हलेुसी तुवाचुङ नगरले दियो प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई जनही एक लाख छात्रवृत्ति

  हिमाल समाचार
28 Shares

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकाले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई जनही एक लाख छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार नगरपालिका भित्रका २ जना प्राविधिक शिक्षा अध्ययनरत विद्यर्थाीलाई जनही एक लाख छात्रवृत्ति प्रदान गरेको हो ।

स्नातक तहमा प्राविधिक शिक्षा अध्ययनरत गरिरहेका नगरपालिका भित्रका विद्यार्थीले छात्रवृत्तिका लागि निवेदन पेश गर्न नगरपालिकाले गत फागुन ६ गते सूचना प्रकाशन गरेको थियो । उक्त सूचनाका आधारमा दुई जनाको निवेदन आएको थियो । निवेदन आएका दुवै जनालाई बिहिबार मेयर विमला राई, उपमेयर रमेश कुमार राउत, प्रमुख प्रशासकीय अधिकृत कैलाश बहादुर ठकुराठीले छात्रवृत्ति रकमको चेक हस्तान्त्रण गर्नुभयो ।

छात्रवृत्ति पाउनेमा हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका विकेश सिलवाल र वडा नम्बर ६ मंगलटारका हेमन राई रहेका छन् । सिलवाल एभरेष्ट इन्जिनियरिङ कलेज ललितपुर र राई कान्तिपुर इन्र्टरनेश्नल कलेज काठमाडौंमा अध्ययनरत विद्यार्थी हुन् । सिलवाल आफै उपस्थित भएर नगरपालिकाबाट छात्रवृत्ति बुझेका छन् भने राईका परिवारले बुझेको मेयर राईले बताउनुभयो ।

प्राविधिक उच्च शिक्षा अध्ययन गर्ने शुनिश्चित भएको कलेजले प्रमाणित गरेकाहरुलाई नगरपालिकाले छात्रवृत्ति दिएको मेयर राईले बाउनु्भयो । ‘नगरपालिकाले कार्यविधि निर्माण गरेको छ, सोही अनुसार सूचना प्रकाशित गरेपछि आएका निवेदन अनुसार २ जनालाई छात्रवृत्ति दिएका छौँ ।’ मेयर राईले भन्नुभयो, ‘प्राविधिक शिक्षा सिपसँग जोडिएकाले सरकारी तथा निजी जागिर खान खास समस्याहुँदैन त्यसैले यस विषय पढ्न प्रोत्साहनस्वरुप हामीले छात्रवृत्ति दिन सुरु गरेका छौँ ।

अन्य विषय भन्दा यो विषय पढ्न अलिक खर्चिलो हुने भएकाले हामीले सहयोग गरेका हौँ ।’ चुनावी घोषणापत्रमा पनि यो विषय उल्लेख गरिएकाले कार्यन्वयन गरिएको मेयर राईले बताउनुभयो । आगामी वर्षमा पनि प्राविधिक उच्च शिक्षा अध्ययन गरिरहेका र गर्नेहरुलाई छात्रवृत्ति प्रदान गरिने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार