कोरोना सङ्क्रमित सांसदले मतदान गर्न पाउने

  हिमाल समाचार
119 Shares

काठमाडाैँ- नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका सांसदहरुले भोलिको सङ्घीय संसद बैठकमा मत दिन पाउने भएका छन् ।

आज नयाँवानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको विशेष अधिवेशनमा कोरोना सङ्क्रमित सांसदलाई मत दिनका लागि बैठकमा सहभागी हुन दिने निर्णय गरेको हो ।

सङ्क्रमण भएका सांसदलाई बाहिर राख्ने र मतदानको बेला भित्र प्रवेश दिने अनि छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय कार्यव्यवस्था परामर्श समितिबाट भएको सभामुख अग्नी सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले विश्वासको मत लिनका लागि भोलि सङ्घीय संसदको विशेष अधिवेशन बोलाइएको छ ।

बैठकमा कोरोना सङ्क्रमित सांसदलाई सहभागी गराउने वा नगराउने बारेमा छलफल गर्न सभामुख अग्नी सापकोटाले कार्यव्यवस्था समितिको बैठक बाेलाएका थिए ।

सभामुख सापकोटाका प्रेस विज्ञ न्यौपानेका अनुसार प्रतिनिधिसभाका २ सय ५ जना सांसदले नयाँवानेश्वरमा जाँच गराउँदा १८ जना सांसदमा कोरोना देखिएको छ ।

टेकुमा पुगेर आफैँ जाँच गराएका मध्ये १० जना सांसदमा पनि कोरोना देखिएको छ । यसोहुँदा कोरोना सङ्क्रमित हुने सांसदको सङ्ख्या २८ पुगेको छ ।

५० जना सांसदले भने पीसीआर जाँच गराएका छैनन् । उनीहरुलाई जाँच गराउनका लागि संसद सचिवालयले सूचना दिइसकेको छ । कार्यव्यवस्था समितिको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रक्रिया भोलि एकै दिनमा टुङ्ग्याउने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार