कीर्तिमानी बल्ब – जुन १२० वर्षदेखि निरन्तर बलिरहेको छ

  हिमाल समाचार  298 पटक हेरिएको

बिजुलीको बल्बको आविष्कार थोमस अल्बा एडिसनले गरेका हुन् । अहिले बजारमा अनेक खालका बिजुली बल्ब उपलब्ध छन् । धेरै बल्ब उत्पादक कम्पनीहरुले बिजुलीका बल्बमा १/२ वर्षको वारेन्टी पनि दिन्छन् । अर्थात् आमरुपमा बिजुलीको बल्ब धेरैमा २/३ वर्ष टिक्दछ । तर अमेरिकामा एउटा यस्तो बल्ब छ जुन लगातार १२० वर्षदेखि बलिरहेको छ ।

१२० वर्षसम्म निरन्तर बलिरहँदा पनि फ्यूज नभएको बल्ब अमेरिकाको क्यालिफोर्नियामा रहेको छ । क्यालिफोर्नियाको लिभरमोर सहरस्थित वारुणयन्त्र केन्द्रमा रहेको उक्त बिजुली बल्ब सेन्टेनियल नामले चिनिन्छ । शेल्बी इलेक्ट्रोनिक कम्पनीले बनाएको उक्त बल्ब सन् १९०१ मा जडान गरेदेखि निरन्तर बलिरहेको छ ।

सन् १९३७ मा बिजुलीको तार फेर्नका लागि पहिलोपटक बल्ब निभाइएको थियो केही समयका लागि । तार फेरेसँगै बल्ब पुनः जलाइयो । सन् २०१३ मा यो बल्ब एक्कासी निभेको थियो । बल्ब निभेपछि वारुणयन्त्रका कर्मचारीले बल्ब फ्युज गएको ठानेका थिए । तर बल्बमा समस्या भएर नभई तारमै समस्या भएका कारण बल्ब निभेको रहेछ । बिजुलीका तार मर्मत गरेपछि पुनः बल्ब बल्न थाल्यो ।

यो बल्ब संसारमा सबैभन्दा धेरै समयसम्म बलिरहेको बल्बको रुपमा गिनिज बुकमा पनि दर्ज भैसकेको छ । यो चमत्कारिक बल्ब चौबिसै घण्टा सिसिटीभी क्यामराको निगरानीमा रहेको छ । चार वाटको यो बल्ब २४ सै घण्टा बलिरहन्छ । सन् २००१ मा उक्त बल्बको एक सयौँ बर्थडे धुमधामसँग मनाइएको थियो र त्यसक्रममा सांगीतिक पार्टीको आयोजना गरिएको थियो ।

१२० वर्षसम्म बलिरहेको यो बल्ब हेर्नका लागि मानिसहरु टाढा टाढाबाट आउने गर्दछन् । बल्ब हेर्न आउने मानिसहरुका कारण वारुण यन्त्रमा कहिलेकाही त निकै ठूलो भिड लाग्दछ । सो बल्बकै कारण वारुणयन्त्र कार्यालय म्युजियम जस्तै बनेको छ ।

एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार