सल्लेरी–खरिखोला थामडाँडा अस्थायी भाडादर कायम

  हिमाल समाचार
6.6k Shares

सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट खरिखोला थामडाँडा सम्मको सवारी भाडादर कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा आज (मंगलबार) प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी इन्चार्ज, यातयात व्यवास्था कार्यालय, यातयात व्यवसायी लगायतको उपस्थितीमा बसेको बैठकले सल्लेरी थामडाँडा सम्मको अस्थायी भाडा प्रति यात्रु २ हजार २ सय रुपैयाँ कायम गरिएको हो ।

बैठकले एक तर्फी भाडा २२ सय र रिर्जभका लागि १३ हजार ५ सय रुपैयाँ कायम कायम गरेको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।

सो क्षेत्रमा सञ्चालित सवारी साधनहरुले यात्रुलाई मनोमानी भाडा असुले भन्दै हेल्लो सरकारमा दर्ता भएको गुनासोको आधारमा मन्त्रालयले यातयात व्यवस्था कार्यालय ओखलढुंगालाई अनुगमन गर्न पत्राचार गरेको थियो ।

उक्त पत्रको कार्यन्वयनार्थ आज यातयात कार्यालयका प्रतिनिधिसहितको छलफलबाट यस्तो निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज कृष्ण कुमार कटवालले जानकारी दिए ।

नयाँ कायम भएको भाडादरबारे ट्राफिक प्रहरीले अनुगमन गर्नेछ भने तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने जनाइएको छ । यातयात व्यवस्था कार्यालयले प्रतिबेदन बुझाएपछि मन्त्रालयबाट निरीक्षण गरि स्थायी भाडादर निर्धारण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सिजनमा पर्यटकको चाप उच्च हुँदा सो सडक खण्डमा यातायात विचौलीयाहरुले रिजर्भ ६० हजार रुपैयाँ सम्म भाडा लिने गरेका थिए । सोलुदुधकुण्ड नगरपालिका ५ स्थित सल्लेरीबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका १ थामडाँडा सम्म करिब ६८ किलो मिटर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार