थुलुङ दुधकोशीले बैशाख पहिलो हप्तामा शिक्षा योेजना निर्माण गरिसक्ने

थुलुङ दुधकोशी गाउँपालिकाले आगामी बैशाख पहिलो हप्ता भित्र गाउँ शिक्षा योजना निर्माण गरिसक्ने भएको छ । गाउँपालिकामा तीन दिन देखि जारी गाउँपालिका शिक्षा योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठीले उक्त निष्कर्ष निकालेको हो । रिड नेपालको सहकार्य तथा प्राविधिक सहयोगमा गाउँपालिकाले पाँच वर्षे कार्ययोजना निर्माण गर्दैछ ।

गोष्ठीमा पालिका भित्रका सबै माध्यमिक तहका प्रधानाध्यापक, गाउँशिक्षा समितिका सदस्य, वडा अध्यक्ष लगायतको सहभागीता रहेको थियो । समापन समारोहमा बोल्दै पालिका उपाध्यक्ष सविता राईले शैक्षिक गतिविधिलाई नतिजामुखी बनाउन यो गोष्ठी कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिन् । विज्ञसमूह समेतको सहभागीतामा शिक्षा योजना निर्माण हुनेभएकाले आगामी दिनमा सामुदायिक शिक्षाको क्षेत्रमा सुधार हुने बताईन् । आफैले बनाएको योजना आफैले कार्यन्वयन हुनेभएकाले यो अझ बढी प्रभावकारी हुने उनको भनाइ छ । गाउँ शिक्षा निर्माण गर्ने थुलुङ दुधकोशी पहिलो पालिका बन्ने दावी गर्दै शिक्षा विकासमा सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरिन् ।२०८० को बैशाख पहिलो साताभित्र योजना निर्माण गरिसक्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ ।

कार्यशाला गोष्ठीको सहजीकरण शिक्षा मन्त्रालयका उपसचिव मेघनाथ शर्मा र रेवती प्रसाद पराजुली, रिड नेपालका कार्यक्रम निर्देशक डिल्ली प्रसाद डोटेल लगायत रिड नेपालका अधिकृतहरुले गरेका थिए । १४ गते गाउँपालिका अध्यक्ष असिम राईले उक्त गोष्ठीको उद्घाटन गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष सबिता राई वडाध्यक्षहरु, घनराज सुनुवार, युजन बस्नेत, इन्द्रमणी दाहाल, चन्द्र बहादुर राई, महेन्द्र दिप राई, भोजराज कार्की, राजेश राई, शंकुमार तामाङ, सामाजिक विकास समिति संयोजक बुद्धिराज राई, कार्यपालिका सदस्य, पालिकाका १० ओटा माविका प्रअहरु, स्थानीय स्रोत शिक्षक भूतपूर्व शिक्षकहरु विव्यस अध्यक्षहरु, पालिकाका शाखा प्रमुखहरु र बालक्लबका प्रतिनिधिहरु गरेर ४५ जनाको सहभागिता रहेको थियो ।

खुम्बु पासाङल्हामु गाउँपालिका बाहेकका रीड नेपालले सोलुखुम्बुको अन्य सबै स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण गर्ने लक्ष्य लिएको शिक्षा विकास सयोजक केशव गिरीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार