शैक्षिक गुणस्तर उकास्न थुलुङ दुधकोशीले वडा शिक्षा समितिलाई थप सकृय बनाउने

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि वडा शिक्षा समितिलाई थप सक्रिय बनाउने भएको छ । पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले हरेक दुई महिनाको पहिलो शुक्रवार समितिको बैठक बसि पालिकामा रिपोर्ट दिनुपर्ने निर्णय गरेको हो ।

शैक्षिक गुणस्तरका निम्ति वडा शिक्षा समितीलाई प्राप्त अधिकार प्रयोग र परिचालनमा जोड दिइने निर्णय गरिएको पालिका अध्यक्ष असिम राईले बताउनुभयो । रिड नेपाल लगायत शैक्षिक क्षेत्रमा काम गर्ने परियोजना र विज्ञ सङ्गको सहकार्यमा शैक्षिक योजना निर्माण गरेको भन्दै पालिका अध्यक्ष राईले शैक्षिक क्यालेण्डर अनुसार शिक्षण सिकाइका कार्य भइरहेको बताउनुभयो ।

वडा भित्रभएका शैक्षिक गतिविधि, शिक्षण सिकाइमा अभिभावक, व्यवस्थापन समिती र शिक्षकको भुमिका लगायतमा विषयमा प्रतिवेदन पठाउने पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । राम्रो काम गर्नेलाइ प्रोत्साहनका कार्यक्रम लागू गरिने विषयमा पनि बैठकमा छलफल भएको उहाँको भनाइ छ ।

आफ्नै श्रोतबाट जनशक्ति अभाव भएको विद्यालयका लागि अनुदानमा शिक्षक व्यवस्थापन गरेको पालिकाले यस अघिनै इ हारिजी प्रयोगमा ल्याएको छ । हरेक वडाले आ–आफ्नो ढंगबाट शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरिरहेको भएपनि अझै सोचेको जस्तो नतिजा ल्याउन सबै क्षेत्र थप सक्रिय हुनुपर्ने छ ।

सबै भन्दा बढी राज्यको लगानीमा शिक्षा क्षेत्रमा भएपनि नतिजा सोचेजस्तो नआएकाले सबै संयन्त्र परिचालनका लागि विभिन्न विधि निर्माण गरिने पालिकाले जनाएको छ । यस्तै सोही बैठकले खाने तेल प्रतिस्थापनका लागि तेलहन बालीलाई अभियानको रुपमा अघि बढाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार