खुम्बु पुगेर महासचिव गुटेरेसले भने-जलवायु परिवर्तनको असरसँग लड्न सहयोग गर्छौ

  सुबास दर्नाल
98 Shares

सोलुखुम्बु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएको असरसँग लड्न सहयोग गर्ने बचन दिनुभएको छ । उच्च हिमाली क्षेत्रको अवलोकन भ्रमणको क्रममा आज सोमबार सोलुखुम्बुको खुम्जुङ आउनुभएका गुटेरेसले जलवायु परिवर्तनको मारमा हिमाली क्षेत्र परेको भन्दै असर न्यूनिकरणका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको बताउनुभयो ।

नेपाली सेनाको हेलिकप्टर मार्फत खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङ आउनुभएका गुटेरेसले स्थानीयसँगको अन्र्तकृयामा विकसित राष्ट्रहरुको नियति विकाशिल राष्ट्रहरुले भोग्नु परेको भन्दै दुःख व्यक्त गर्नुभयो । विश्वका ठुला तथा विकासित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदुषण भएपनि त्यसको प्रत्यक्ष मारमा भने नेपाल जस्ता साना राष्ट्रहरु परेको उहाँको भनाई छ ।

जलवायु परिवर्तनको असर नेपालसहित विश्वकै टाउको दुखाईको विषय बनेकाले जलवायु परिवर्तनको असरसँग लड्न सबैको हातेमालो आवश्यक रहेकोमा महासचिव गुटेरेसले जोड दिनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालहरुमा हिउँ पग्लिदै जानु जलवायु परिवर्तनको ठुलो असर भएकाले यसको न्यूनिकरणका लागि सहयोग गर्न राष्ट्रसंघ सधै तयार रहेको उहाँको भनाई छ ।

करिब २ घण्टा खुम्जुङमा स्थानीय, अगुवा, पर्यटन व्यवसायी तथा जनप्रतिनिधिसँग अन्र्तकृया गर्नुभएका गुटेरेससँग खुम्बुका नागरिकहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लदै गएको र हिमालहरु कालापत्थरमा परिणत भएकाले हिमाली वस्ती जोखिममा रहेको बताएका छन् ।

हिमालमा हिउँ पग्लिएसँगै हिमाली वस्ती हिमपहिरोको उच्च जोखिममा रहेको उनीहरुको भनाई थियो । साथै सगरमाथाको फोहोर सफा गर्ने विषय नेपालका लागि निक्कै पेचिलो भएकाले यसमा सहयोग गर्न स्थानीयले संयुक्त राष्ट्रसंघसँग आग्रह गरेका छन् ।

खुम्जुङको होटल एभ्रेष्ट भ्यूमा भएको उक्त कार्यक्रम सकेर गुटेरेस विहान ९९ बजे काठमाण्डौँ फर्किनुभएको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार