पत्रकारको दशैँ : यसकारण नीरस

  हिमाल समाचार
1.3k Shares

सोलुखुम्बु – भोजेन्द्र बस्नेत सोलुखुम्बुको लिखुपिकेमा जन्मेका हुन् । जिल्लामा रहेर करिब एक दशक पत्रकारिता गरेका बस्नेत अहिले उज्यालो नेटवर्कमा कार्यरत छन् । दशैँमा घर आउन तिव्र इच्छा हुदाहुदै पनि आउन सकेनन्, कारण कोरोना ।

‘कोरोनाको जोखिम नभएको भए केही दिनलाई विदा मिलाउन सक्थे होला तर घरमा बुद्ध बाआमा भएकाले काठमाण्डौबाट दशैँ मनाउन गाउँ फर्कन छेक्यो ।’ उनले भने, ‘अहिलेसम्म दशैँ घर बाहिर मनाएको थिइन् । यो पटक बाध्यता भयो । घर बाहिरको दशैँ मेरो लागि पहिलो हो ।’

आइतबार साँझसम्म अफिसमै रहेका बस्नेतले गाउँघर र परिवारकै यादमा घरको फोटो फेसबुकमा पोष्ट गरे । हिमाल समाचारसंग याद साट्दै भने, ‘निकै न रमाइलो लाग्दो रैछ । के गर्नु परिस्थिती भन्दा ठूलो केही नहुदो रहेछ ।’ गाउँको झल्कोले धेरै सताएको उनले बताए ।

छोटो कुराकानीमा पत्रकार बस्नेतले दशमीको आफ्नो कामको तालिका समेत सुनाए । ‘विहान श्रीमती र छोरीसंग दशैँ मनाउँछु । दिउँसो १ बजेपछि रेडियोको काममा व्यस्त हुन्छ ।’ उनले कामको कुरा गर्दै भने, ‘सूचना प्रवाहको संवेदनालाई हेरेर काम छोड्न त मिलेन् । साथीभाइहरु दशैँ मनाउन विदामा रहेकाले पनि दशैँको दिन पनि फुर्सद छैन् ।’

………………

ओखलढुंगाका पत्रकार नवराज कार्कीको दशैँपनि नीरस छ । केही महिना अघि कोरोना संक्रमित बनेका कार्की उपचारमै छन् । पिसिआर रिर्पोट नेगेटिभ आएपनि संक्रमणको प्रभाव अहिलेसम्म पनि खेपिरहेका छन्, उनले । त्यसकारण पनि यो दशैँमा अघिल्ला बर्षमा झैँ बाहिरी हिँडडुल, भेटघाट शुन्य भयो ।

उनले भने, ‘सदरमुकाममै छु । यो पटक कोरोना संक्रमणकै कारण नीरस भयो । कोरोनालाई जितेपनि त्यसको दिर्घकालिन प्रभावलाई सामना गरिरहेको छु ।’ कुन्तादेवीमा जन्मेका उनी दशमीको दिन घर जानेछन् तर फर्कीहाल्ने कार्कीको भनाई छ ।

संक्रमणपछि अस्पतालमा उपचारमा रहदा पनि अनलाइन पोर्टल (ओखलढुंगाखबरडटकम)मा सूचना सम्प्रेषणमा सक्रिय कार्की घर फर्केपछि स्वास्थ्य प्रतिकुल बनेको बताउछन् । त्यसपछि सूचना सम्प्रेषणलाई शुन्य बनाएका छन् ।

‘कोरोनाकै कारण दशैँ नीरस छ । परिस्थितीको सामना गर्नुबाहेक कुनै विकल्प देख्दिन ।’ उनले भने ।

………………

हिमाल एफ.एम.मा कार्यरत पत्रकार शिखर जंग श्रेष्ठ (गजरकोटे)ले गएको दशैँ पनि रेडियोमै मनाए । यो दशैँ पनि रेडियोमै मनाउदैछन् । उनले भने, ‘सहकर्मीबीच आलोपालोमा दशैँ मनाउन जाने चलनलाई आत्मसाथ गरेका छौँ । यो पटक तनहूँको गजरकोट जाने सुरमा थिए । तर कोरोना जोखिमले गर्दा यो पटक पनि रेडियोमै दशैँ मनाउने तयारीमा छु ।’

‘रेडियोमा मालश्री र दशैँका धुन आफैँले बजाएर स्रोतासंग गन्थनमन्थन गर्दा मन कति पोल्दो हो तर पेशा हो, गर्नै प¥यो ।’ उनले भने । ८ बर्ष देखि सोलुखुम्बुमा रहेर पत्रकारिता गरेका उनी बर्ष दिन बिराएर दशैँमा घर पुग्थे तर यो पटक जुरेन । ‘घरबाट फोन आउँदा मन कुडिन्छ । यसपटक त झन् कोरोनाले गर्नु ग¥यो ।’ उनी थप्छन्, ‘यो पटक त धेरैको दशैँ निरस छ । मेरो मात्रै के कुरा भो र !’

‘यो पटकको दशैँ पनि रेडियोमै सहकर्मीसंग दशै मनाउने, रमाउने, सूचना सम्प्रेष्ण गर्ने, स्रोतासंग शुभकामना आदानप्रदान गरेरै मनाउछु ।’ उनले भने, ‘अभिभावक बनेर टिका लगाइदिने गरेको छु । टिका साइत अवधिमा निकै मन कुडिन्छ तर सम्हालिन्छु ।’

………………

हिमालकर्मीको दशैँ

सबैलाई थाहा छ, दशैँमा रेडियो प्रसारण बन्द गर्न मिलेन । त्यसकारणले पनि प्रायः रेडियोमा दशैँ विदामा आलोपालो लागु हुन्छ । त्यस्तै आलोपालो हिमाल एफएममा पनि चल्दै आएको छ । यो बर्ष दशैँमा विदा बसे, अर्को बर्ष नबस्ने वा यो बर्ष विदा नबसेकाहरु, अर्को बर्ष बस्ने ।

यहि आलोपालो चलन अनुसार सोलु काँकुकी अम्रिता राईले दशैँ रेडियोमै मनाउदैछिन् । उनलाई दशैँको शुभकामना व्यवस्थापनमै भ्याइनभ्याइ छ । उनले गत बर्षको दशैँ घरमा मनाएकी थिइन् । देउसा घर भएका अम्रित थुलुङ प्राविधिक हुन् । सहकर्मी प्रविण राई विदामा बसेपछि उनी दशैँमा घर जान पाएनन् । उनी दशैँ शुभकामना र गीत प्रसारण व्यवस्थापनमा तल्लिन छन् ।

समाचार शाखाका दिपेन्द्र पराजुली अघिल्लो बर्ष दशैँमा विदा बसे । आलोपालो सिष्टमलाई फलो गर्दै उनी यो पटक टिकाको भोलीपल्ट घर (सल्यान)झर्ने तयारीमा छन् । खोटाङ रावावेशी घर भएका अशोक राईको दशैँ रेडियोमै वित्दैछ । उनी पनि यो पटक घर गएनन् ।

गार्माकी सोनामछोटी शेर्पा उनको समुदायमा दशैँ न मनाउने भएकाले अफिस आउछिन्, जान्छिन् । कहिले समाचार, कहिले दशैँ विशेष कार्यक्रम त, कहिले दशैको शुभकामना टिपनटापनमै उनको दिन जान्छ । शेर्पा समुदायकी भएपनि सहकर्मीहरुले आयोजना गर्ने र सहभागी बन्ने इभेन्टमा सहभागी बनेर साम्प्रदायीक सद्भाव कायम राख्छिन् ।

यो पटक हिमालकर्मी भानुभक्त निरौला, सोनि राई, प्रविण राई, सलिना लामिछाने, अनुजा कट्टेल लगायतका सहकर्मी दशैँ विदामा घर पुगेका छन् । छोटो अवधिका लागि भएपनि पारिवारिक जमघट र खानपिनमा रमाउन पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार