सडक निर्माणको क्रममा गएको पहिरोका कारण लोदिङको २ घर उच्च जोखिममा

  हिमाल समाचार
812 Shares

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरी–तामाखानी–पिके सडक निर्माणको क्रममा गएको पहिरोका कारण लोदिङमा क्लब भवनसहित २ घर उच्च जोखिममा परेको छ । उक्त सडक निर्माणको क्रममा स्थानीय पुर्ण माया विश्वकर्माको २ तले घर र नजिकै रहेको लोदिङ सृजनशील क्लबको भवन पहिरोको उच्च जोखिममा परेको हो ।

सडक विस्तारको क्रममा गएको पहिरो विश्वकर्माको ढुङ्गा माटोले बनेको र टिनको छानो भएको २ तले घरको करिब ४ मिटर नजिक पुगेको छ भने क्लव भवनको करिब ५ मिटर नजिक पुगेको प्रहरीले जनाएको छ । पहिरो बढ्दै गएकाले विश्वकर्माको परिवारलाई सुरक्षित स्थानमा सर्न वडा कार्यालयले आग्रह गरेको छ । पहिरोले पुर्ण मायाको करिब ४ रोपनी क्षेत्रफलमा बनेको घर तान्न सक्ने जोखिम उच्च रहेको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले बताए ।

बस्तीमा सडक निर्माण गर्दा निर्माण कम्पनीले ख्याल नगर्दा बास नै उठ्ने अवस्था सृजना भएको पीडित विश्वकर्माले गुनासो गरिन् । निर्माण कम्पनी ओसेस इन्जिनियर विल्डर्स प्रा.लि.ले सडक निर्माणको क्रममा त्रुटी भएकाले जोखिम न्यूनीकरणको लागि ग्याभिङको काम भइरहेको बताएको छ ।

सो सडक प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास तथा सहरी विकास मन्त्रालयको ४२ करोड लागतमा निर्माण सुरु भएको हो । लिखुपिके गाउँपालिकाबाट स्थलमार्ग हुँदै सदरमुकाम सल्लेरी जोड्ने सबैभन्दा छोटो मार्ग समेत हो ।

सल्लेरी थापाटोलको जिरोप्वाइन्टदेखि तामाखानी–लोदिङ क्षेत्रसम्म करिब १३ किलोमिटर सडक ग्याभिङ, साइड खन्नेलगायतको काम भइरहेको छ । कम्पनीले डेढ वर्षभित्र काम सक्ने गरी गत असारमा निर्माण कार्य सम्झौता गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार