रावाबेसी गाउँपालिकाले दिन थाल्यो मासिक १ हजार विधुर भत्ता

  हिमाल समाचार
189 Shares

खोटाङको रावा बेसी गाउँपालिकाले विधुर भत्ता दिन थालेको छ । श्रीमतीको मृत्यु भएका ४५ वर्ष माथिका एकल पुरुषहरुलाई पालिकाले मासिक एक हजार विधुर भत्ता दिन थालेको हो ।

स्थानीय तहको दोस्रो निर्वाचन पश्चात पहिलो कार्यापालिकाको बैठकलले विधुर भत्ता दिने निर्णय पारित गरेको थियो । सोही अनुसार २०७९ साउन १ गते देखि लागु हुने गरी गाउँपालिकाले कार्यविधि निर्माण गरेर भत्ता प्रदान गरेको छ । साउन १ गते देखिको एकमुस्टमा जेठ २२ गते (सोमबार) विधुर भत्ता प्रदान गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख गिरिराज रानाले जानकारी दिनुभयो ।

६ वडा रहेको पालिकामा पहिलो चरणमा २४ जनाले विधुर भत्ता पाएका छन् । उनिहरुलाई सोमबार गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, वडाध्यक्षहरु गेहेन्द्रमान राई, डोलराज बस्नेत र चिरञ्जीवी कार्कीले संयुक्त रुपमा भत्ताको चेक हस्तान्तरण गर्नुभएको छ । रावा बेसी गाउँपालिकाको विधुर भत्ता कार्यविधि २०७९ अनुसार श्रीमतीको मृत्यु पश्चात बिबाह नगरी बसेका ४५ वर्ष माथिका पुरुषहरुले मासिक १ हजार भत्ता पाउने छन् ।

विधुर भत्ताका लागि नेपाल सरकारको सेवा सुविधा नलिएको, गैर सरकारी निकायबाट तलब, पेन्सन तथा निवृत्त भरण वा सामाजिक सुरक्षा भत्ता नलिएको हुनुपर्ने छ । लाभग्राहीको खातामा ३/३ महिनामा भत्ता रकम जम्मा हुनेछ । गाउँपालिकाको वडा नम्बर १,४,५ र ६ का लाभग्राहीलाई राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय रावा बेसीबाट र वडा नम्बर २ र ३ का लाभग्राहीलाई प्रभु बैक शाखा कार्यालय लामिडाँडाबाट वितरण गर्ने व्यवस्था मिलाइएको पालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार