ओली समूहको एकलौटी निर्णय, अष्टलक्ष्मीलाई हटाएर बादललाई जिम्मेवारी

काठमाण्डौँ – नेकपा एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकबाट रामबहादुर थापा ‘बादल’सहित ४२ जनालाई केन्द्रीय सदस्यमा नियुक्त गरिएको छ । शुक्रबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले अष्टलक्ष्मी शाक्यको ठाउँमा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ । बादलसहित २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् । त्यस्तै सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज पनि तोकिएका छन् ।

प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् । त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा. राजन भट्टराईले पाएका छन् । प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीले पाएका छन् । स्कूल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले लिएका छन् ।

त्यसैगरी, बैठकले पार्टीका सबै पदाधिकारी खारेज गरेको छ । अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेलको पद भने कायमै रहेको छ । पार्टीको महाधिवेशन मंसिर २ देखि ६ गतेसम्मका लागि तय गरेको बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

ओलीले अर्को बैठक चैत ७ गते बस्ने जानकारी दिदै आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार